काठमाडौं,२४ असोज । बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध बनेको बीपी राजमार्ग आज (शुक्रबार) साँझदेखि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
असोज १७ र १८ गतेको अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो गएपछि काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने यो महत्वपूर्ण राजमार्ग अवरुद्ध बनेको थियो। अहिले डाइभर्सन निर्माण र मर्मत कार्य अन्तिम चरणमा पुगेको भक्तपुर सडक डिभिजनका प्रमुख इन्जिनियर सुमन योगेशले जानकारी दिए।
उनका अनुसार, डाइभर्सन निर्माण लगभग सकिन लागेको छ र आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। “रातभर काम भइरहेकाले आज साँझसम्म सडक सञ्चालनमा आउनेछ,” इन्जिनियर योगेशले बताए।
भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले बिहीबार स्थल निरीक्षण गर्दै आज साँझसम्म सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायी र प्राविधिकहरू सडक मर्मतमा खटिएका थिए।
सडक विभागका अनुसार, हालको बाढीपहिरोले राजमार्गका १६ स्थानमा करिब ३.५ किलोमिटर डाइभर्सन बगाएको छ। त्यस्तै, गत वर्षको बाढीपछि बनाइएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको थियो। २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब रुपैयाँ लागतमा बनेको यो राजमार्ग आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते औपचारिक रूपमा सम्पन्न भएको हो।




