काठमाडौं, २४ असोज । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको हो। वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायको गत भदौ २२ गतेदेखि सञ्चालित स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका नष्ट भएको हो।
उत्तरपुस्तिकाहरू सुरक्षाका लागि नजिकैको प्रहरी चौकीमा राखिएको थियो, तर आन्दोलनका क्रममा चौकी जल्दा ती जलेका हुन्। त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिले असोज २२ गते बसेको बैठकमा परीक्षा रद्द गरी पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
संबद्ध परीक्षा केन्द्र तथा क्याम्पसहरूले आफ्ना विद्यार्थीलाई पुनः परीक्षा दिन व्यवस्था गर्न भनिएको छ।



