बीरगन्ज,२४ असोज । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा खोलामा असोज १९ गते बेपत्ता भएका २१ वर्षीय बिकि गोसाईको शव आज फेला परेको छ।
शव फेटा गाउँपालिका–१ त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिण, खोलाको बीच भागमा बालुवाले छोपिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकका बुवा शम्भु गोसाईले आज बिहान इलाका प्रहरी कार्यालय प्रसौनीलाई जानकारी दिएका थिए।
प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शव उद्धार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा लगेको छ। निरीक्षक श्रेष्ठका अनुसार मृतकको खुट्टा र कपडासम्मको आधा भाग बालुवाले ढाकिएको अवस्थामा भेटिएको हो।
घटनाको दिन, बिकि गोसाई र २० वर्षीय अणुराग केसरवानी दुधौरा पुलमा टिकटक बनाउन क्रममा खोलामा हाम फालेका थिए। केसरवानी भने आफैँ पौडी खेल्दै बाहिर निस्केका थिए, जबकि बिकि गोसाई बेपत्ता भएका थिए।



