काठमाडौं,२४ असोज । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर इन्जिनियर सुमान योगेशका अनुसार, नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिका चिउरीबाससम्म ट्र्याक खोलिसकिएको छ। आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्र्याक खोल्ने योजना छ। उनले भने, “ट्र्याक परीक्षणपछि शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ।”
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो। मङ्गलबारदेखि डाइभर्सन निर्माण थालिएको र बिहीबार राति करिब दुई दर्जन मेसिनले अस्थायी सडक निर्माण गरिरहेको बताए।
बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको थियो। सडक विभागले क्षतिग्रस्त खण्डको स्थायी निर्माणका लागि चार ठेक्का प्रक्रियामा अघि बढाएको छ। बिपी राजमार्ग पूर्वी नेपाल जोड्ने छोटो दूरीको मुख्य मार्ग भएकाले दैनिक हजारौँ यातायातको आवतजावत हुने गर्दछ।



