काठमाडौँ, २२ असोज । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न सरकारले अस्थायी तथा करार कर्मचारी नबढाउने निर्णय गरे पनि उक्त व्यवस्था करार शिक्षकमा लागू नहुने भएको छ।
अर्थ मन्त्रालयले असोज ७ गते सार्वजनिक गरेको विज्ञप्तिको बुँदा ९(ज) मा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी राख्न नपाउने उल्लेख थियो। तर विद्यालयहरू र स्थानीय तहबाट करार शिक्षकसम्बन्धी स्पष्टता मागिएपछि शिक्षा मन्त्रालयले यो व्यवस्था शिक्षकका हकमा नपर्ने जनाएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै, उक्त निर्णय करार शिक्षकमा लागू नहुने स्पष्ट गरेको छ।



