काठमाडौं,२४ असोज । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पूर्वपदाधिकारीका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) भित्र असन्तुष्टि देखिएको छ। माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै प्रचण्डको सुरक्षा अब पूर्वजनमुक्ति सेना (पीएलए) र वाईसीएलले सम्हालिरहेको बताएका छन्।
गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि दीपशिखाले प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्, “प्रचण्डलगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ। बुझ्नुपर्छ— ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तो हुन्छ।”
स्रोतका अनुसार, प्रचण्डका लागि खटाइएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने तयारी भइरहेको छ। गृह मन्त्रालयका अधिकारीका अनुसार, यो निर्णय केवल पूर्वपदाधिकारीहरूमा सीमित नभई बहालवाला पदाधिकारीहरूको हकमा पनि लागू हुनेछ।
पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमाण्डर रहिसकेका प्रचण्ड अहिले पुनः उच्च सुरक्षा घेरामा छन्। जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राजनीतिक दलका कार्यालयमा आक्रमण भएपछि उनको सुरक्षा कडा बनाइएको थियो।
दीपशिखाका अनुसार, भदौ २४ गते मात्र प्रचण्ड राज्य सुरक्षामा थिए, त्यसपछि भने उनको सुरक्षा पूर्व पीएलए र वाईसीएलले सम्हाल्दै आएको हो।“अध्यक्ष प्रचण्डको भित्री सुरक्षा पूर्व पीएलए र बाहिरी सुरक्षा वाईसीएलले सम्हालिरहेका छन्,” वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए। उनका अनुसार, प्रचण्ड सहभागी हुने कार्यक्रममा वाईसीएलका कार्यकर्ताले पहिल्यै स्थलमा पुगेर सुरक्षा मूल्याङ्कन गर्छन् र त्यसपछि आवश्यक व्यवस्था मिलाउँछन्।
हाल प्रचण्ड ललितपुरको सातदोबाटो क्षेत्रमा बसोबास गर्दै आएका छन्। शान्ति सम्झौताअनुसार विशेष सुरक्षा दिने व्यवस्था रहेको भन्दै माओवादी नेताहरूले सरकारले पूर्वाग्रही निर्णय नगर्न आग्रह गरेका छन्।





