काठमाडौं,२४ असोज । जनमत पार्टीले आफ्ना संरचना तथा सम्बद्ध संगठनहरूले सञ्चालनमा ल्याएका सामाजिक सञ्जालका पेज र ग्रुपमा कडाइ गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार, पछिल्लो समय फेसबुक, भाइबर, ह्वाट्सएप र म्यासेन्जरमा अनियन्त्रित रूपमा बनेका ग्रुपहरूले भ्रम र विवाद सृजना गर्न थालेपछि यस्तो कदम चालिएको हो।
पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीका अनुसार, अबदेखि जनमत पार्टी वा त्यसका भातृ, पेसागत वा शुभचिन्तक संगठनहरूको नाम कुनै पनि ग्रुप वा पेजमा प्रयोग गर्न सम्बन्धित तहको समितिबाट आधिकारिक स्वीकृति आवश्यक हुनेछ।
“यदि आधिकारिकता छैन भने पार्टी वा यसको संगठनको नाम कुनै हालतमा प्रयोग गर्न पाइने छैन,” चौधरीले बताए।
निर्देशनअनुसार, प्रत्येक पेज वा ग्रुप सोही तहको जिम्मेवार पदाधिकारीको मातहतमा रहनेछ। साथै, निगरानीका लागि सबै पेज र ग्रुपमा पार्टीको केन्द्रीय सचिवालयलाई ‘एडमिन’ बनाउने व्यवस्था गरिएको छ।
जनमत पार्टीले स्पष्ट पारेको छ ग्रुप वा पेजमा सम्बन्धित क्षेत्रका सदस्यहरू मात्र जोड्न पाइनेछ, बाह्य व्यक्ति वा अनधिकृत सदस्य थपे विवाद बढ्ने भएकाले त्यसमा नियन्त्रण गरिनेछ। पार्टीले सामाजिक सञ्जालमा व्यक्तिगत टिप्पणी, टीका–टिप्पणी वा विवादास्पद पोस्ट राख्न नपाइने चेतावनी समेत दिएको छ। “निर्देशन उल्लङ्घन गर्ने सदस्यलाई तुरुन्तै ग्रुप वा पेजबाट हटाइनेछ,” चौधरीले भने।
पार्टीका अनुसार, यो निर्णयले सामाजिक सञ्जालमा देखिएको अव्यवस्था र संगठनभित्रको असहमतिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।



