काठमाडौं,२४ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले अबदेखि आफ्ना चिकित्सकलाई बिरामीका लागि औषधि सिफारिस गर्दा जेनेरिक नाम ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन दिएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायका अनुसार, चिकित्सकहरूले हतारमा औषधि लेख्दा अक्षर अस्पष्ट हुने र त्यसले फार्मेसीमा औषधि पहिचानमा समस्या आउने गरेकाले यस्तो व्यवस्था गरिएको हो। “औषधिको नाम ठूला अक्षरमा लेख्दा फार्मेसीलाई सजिलै चिन्ने र बिरामीले सही औषधि पाउने सुनिश्चितता बढ्नेछ,” रायले बताए।
उनका अनुसार यो निर्देशनले चिकित्सकहरूलाई औषधि लेख्न केही बढी समय लाग्ने भए पनि स्वास्थ्य सेवा प्रणालीमा स्पष्टता र सुरक्षाको स्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।
अस्पतालले यो नियम नेपाल सरकार र डिन कार्यालयको निर्देशन अनुसार लागू गरेको हो। टिचिङ अस्पतालमा दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामी ओपिडी सेवाका लागि आउने गर्छन् भने आकस्मिक (इमरजेन्सी) कक्षमा दैनिक करिब १५० देखि १६० बिरामी उपचारका लागि आउने गर्छन्।
रायका अनुसार, ठूलो संख्यामा बिरामी हुने भएकाले चिकित्सकहरूमा कामको चाप बढी हुन्छ, त्यसैले औषधि स्पष्ट अक्षरमा लेख्ने अभ्यासले स्वास्थ्य सेवामा थप सहजता ल्याउनेछ।



