बीरगन्ज,२४ असोज । बीरगन्ज महानगरपालिका–३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा शुक्रबारदेखि प्रयोगशाला (ल्याब) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। वडाध्यक्ष मनोजकुमार यादवले उद्घाटन गर्दै स्थानीय तहमा स्वास्थ्य पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि भएको बताए।
ल्याब सञ्चालनमा आएपछि अब वडा नम्बर ३० का बासिन्दालाई सामान्य रगत, पिसाब र दिशाको परीक्षणका लागि बीरगन्ज शहर धाउनुपर्ने आवश्यकता रहने छैन। वडाध्यक्ष यादवका अनुसार गाउँमै सस्तो शुल्कमा परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब स्थापना गरिएको हो।
ल्याब इन्चार्ज आदित्य चौरसियाका अनुसार, ल्याबमार्फत ३७ प्रकारका परीक्षण सुविधा उपलब्ध हुनेछन्। तीमध्ये मलेरिया, डेंगु र एचआईभी परीक्षण निःशुल्क गरिनेछ भने एकल महिलाका लागि सबै प्रकारका परीक्षण निःशुल्क रहनेछ।

स्थानीय स्तरमै स्वास्थ्य सेवा सुदृढीकरण गर्ने प्रयासस्वरूप सुरु गरिएको यो ल्याबले ग्रामीण बासिन्दालाई समय र खर्च दुबैमा राहत दिने अपेक्षा गरिएको छ।




