काठमाडौं,२४ असोज । देशभर जापानिज इन्सेफ्लाइटिस (Japanese Encephalitis) सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। यस वर्ष मात्रै यो रोगबाट ३१ जनाको मृत्यु भइसकेको छ, जुन पछिल्ला १० वर्षकै सबैभन्दा उच्च संख्या हो। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, यो रोग अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ।
गत वर्ष ८६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो वर्ष संख्या बढेर १६४ पुगेको छ। डा. गौतमका अनुसार, मृत्यु हुनेमध्ये अधिकांश ४० वर्षभन्दा माथिका र खोप नलगाएका व्यक्ति रहेका छन्। उनका अनुसार, “विगतको तुलनामा अहिलेको सङ्ख्या निकै बढी हो। खोप लगाएकामा पनि लामो समयपछि प्रतिरक्षा घट्न सक्छ।”
प्रदेशगत तथ्यांकअनुसार, लुम्बिनीमा सबैभन्दा बढी ११ जनाको मृत्यु भएको छ। त्यस्तै बागमती र गण्डकीमा पाँच–पाँच, कोशीमा चार, मधेशमा तीन, सुदूरपश्चिममा दुई र कर्णालीमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डा. गौतमका अनुसार, सङ्क्रमण बढ्नुमा लामखुट्टे, सुँगुर र हाँसपालनजस्ता कारणहरूको प्रभाव हुनसक्ने देखिएको छ र त्यसको अध्ययन भइरहेको छ। रोग विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी फैलिने गरेको बताइन्छ।
नेपालमा हालसम्म करिब ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप पाइसकेका छन्। सन् १९९८ देखि पाँच वर्षमुनिका बालबालिकालाई यो खोप नियमित रूपमा दिइँदै आएको छ। नेपालमा पहिलो पटक सन् १९७८ मा रुपन्देहीमा यो रोग देखिएको थियो, भने जापानमा सन् १८६१ मा पहिलोपटक पत्ता लागेको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार, पछिल्लो बढ्दो संक्रमणले जनस्वास्थ्यमा थप चुनौती थपेको छ र समयमै खोप र सचेतनाका कार्यक्रम विस्तार गर्न जरुरी रहेको छ।




