काठमाडौं,२४ असोज । निवर्तमान सांसद सुमना श्रेष्ठले हाल देशभर सुरु भएको संसद् पुनर्स्थापनासम्बन्धी बहसलाई ‘युवा क्रान्तिको मर्मविपरीत’ भएको बताएकी छिन्।
फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले भनिन्, “ताजा जनादेशका लागि सम्पूर्ण नेपाली समाज तयार भइसकेको बेला सत्तालिप्सामा डुबेका नेताहरूले संसद् पुनर्स्थापनाको बहस चलाउनु २३ भदौको युवा क्रान्तिको मर्म विपरीत छ।”
उनका अनुसार लोकतन्त्रको नाममा सत्ता जोगाउने प्रयास गर्नेहरू वास्तविक लोकतान्त्रिक मूल्य र चरित्र देखाउन असफल भएका छन्। उनले लेखेकी छन्, “नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षतामाथि शंका गर्नु भनेको जनता समक्ष जान डराएका भ्रष्टाचारी र आपराधिक तत्वहरूको निकृष्ट बहाना हो।”

श्रेष्ठले शान्तिपूर्ण निकास खोज्न तयार नेपाली समाजलाई द्वन्द्वतिर लैजाने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत रहन आग्रह गरेकी छिन्। उनका शब्दमा, “एमाले र कांग्रेसभित्र रहेका देशप्रेमी युवाले अब नेतृत्वको स्वार्थी खेलविरुद्ध विद्रोह, प्रतिवाद र प्रतिरोध गर्नुपर्छ।”




