बीरगन्ज,२४ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले अब शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण भर्ने सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि, परिचयपत्रको विवरण भर्न दैनिक सेवाग्राहीको अत्यधिक चापले समस्या सिर्जना गरेपछि कार्यालयले सेवा समय विस्तार गर्ने भएको हो।
सूचनाअनुसार, अब सेवा प्रति दिन बिहान ७ः३० बजे देखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन हुनेछ। यसका साथै, असोज २५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध हुने भएको छ।
हाल दैनिक ३५०–४०० सेवाग्राहीलाई टोकन जारी गर्दै विवरण प्रविष्ट गर्ने काम भइरहेको छ। तर भीड बढेपछि टोकन प्रणाली अनुसार २०८२ कार्तिक २८ गतेसम्मको टोकन पहिले नै बाँडिएको छ।
सेवाग्राहीको सुविधा र भीड व्यवस्थापनका लागि जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र विभागमा थप डेस्क र कर्मचारी उपलब्ध गराउन अनुरोध गरेको छ। विभागले छिट्टै २–३ थप डेस्क उपलब्ध गराउने आश्वासन दिएको छ। डेस्क थपिएपछि दैनिक करिब ५०० जनाको विवरण प्रविष्ट गर्न सकिने अपेक्षा गरिएको छ।
त्यस्तै, विदेश जाने राहदानी बनाउनुपर्ने, बैंक खाता खोल्ने, वृद्ध वा अपाङ्गको हकमा विशेष सेवा आवश्यक परेमा, सेवाग्राहीले निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ।



