बीरगन्ज,२४ असोज । बीरगन्ज उद्योग वाणिज्य सङ्घले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का निर्यात अनुदान आवेदन रोक्ने उद्योग विभागको निर्णय फिर्ता लिन र निर्यातकर्ताका लागि आवेदन दिने म्याद थप गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन् कि विगतमा केही वस्तुहरूको निर्यातमा अनुदानले निर्यात प्रवर्द्धनमा उल्लेखनीय सफलता ल्याएको थियो। तर उद्योग विभागले असोज २३ गते जारी गरेको सूचनामा “आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाउने आवेदन प्रक्रिया यस वर्ष अघि नबढाइने” निर्णय गर्दा निर्यातकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको बताए।
सङ्घले औद्योगिक क्षेत्र र निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन परिस्थितिबीच पनि वैदेशिक मुद्रा आर्जनमा योगदान गर्दै आएको उल्लेख गर्दै, अनुदान प्रक्रिया रोकिनु दीर्घकालीन नकारात्मक असर पुर्याउने चेतावनी दिएको छ।

त्यसैले बीरगन्ज उद्योग वाणिज्य सङ्घले उद्योग विभागको निर्णय पुनर्विचार गरी आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन बुझाउने म्याद थप गर्न माग गरेको छ। साथै, सङ्घले वित्तीय सङ्कट र संक्रमणकालीन अवस्थालाई ध्यानमा राख्दै सो वर्षको बक्यौता बराबरको बण्ड जारी गर्ने व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सङ्घ मुलुकको वित्तीय सीमा, असहज परिस्थिति र औद्योगिक चुनौतीलाई गम्भीरतापूर्वक बुझ्दछ र नेपाली निर्यातकर्ताको संरक्षण तथा औद्योगिक विकासमा प्रतिबद्ध रहँदै सरकारसँग आग्रह गर्दछ।”




