सप्तरी,२५ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनीचोकमा ट्रक क्रेनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सडक निर्माण कार्यमा प्रयोग भइरहेको सिंगापुरबाट ल्याइएको ट्रक क्रेनले शुक्रबार बिहान ७६ वर्षीय स्थानीय बमभोल चौधरीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेहाई पुल नजिक डोजर र स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रक क्रेनले सोही दिशाबाट साइकलमा गइरहेका चौधरीलाई ठक्कर दिएको थियो ।
घटनापछि ट्रक क्रेन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



