जनकपुर,२५ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले असोज २८ गते (मंगलबार) विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख छ, “नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२ असोज २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।”
सिंह हाल जनमत पार्टीको तर्फबाट गठन भएको प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । हाल प्रदेश सभामा दलहरूको नयाँ राजनीतिक गणित बनेसँगै उनले संविधानअनुसार विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश सभास्रोतका अनुसार उक्त दिन सिंहले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि मत विभाजन प्रक्रिया पनि त्यहीँ दिन सम्पन्न हुने सम्भावना छ ।




