काठमाडौं,२५ असोज । नेकपा (एमाले) ले सरकारले राजनीतिक संवाद र सहमतिको सट्टा निषेध र हिंसाको बाटो लिएको आरोप लगाएको छ। भक्तपुरको गुन्डुमा शुक्रबार बसेको पार्टी पदाधिकारीको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारको गतिविधिबारे गम्भीर छलफल भएको थियो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिले दिएको म्यान्डेटअनुसार सरकार अघि बढ्नुपर्ने हो, तर अहिले सरकार अर्कै बाटोमा हिँडेको छ। यस अवस्थाले निर्वाचन नहुने, भए पनि निष्पक्ष नहुने गम्भीर शंका उत्पन्न गरेको छ।”
उनका अनुसार, सरकारले विपक्षी दलहरूलाई विश्वासमा लिनुपर्ने बेला उल्टै दमन र धम्कीको नीति अपनाइरहेको छ, जसले लोकतान्त्रिक संस्कृतिमा आघात पुर्याएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि हालको राजनीतिक परिस्थितिलाई अस्वस्थ बताउँदै लोकतान्त्रिक शक्तिहरू संसद् पुनःस्थापनाको पक्षमा एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए। उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई “राजनीतिक सहमतिको आत्माबाट विचलित” भएको आरोप समेत लगाए।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका विषयमा छलफल गर्न एमालेले आजको बैठक बोलाएको हो। पार्टीले शनिबार पुनः बैठक जारी राख्ने जनाएको छ।
यसअघि आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी भएका थिए। भोलि बिहान ११ बजे बस्ने भनिएको सचिवालय बैठकमा राष्ट्रपतिसँग भएको कुराकानी र आगामी राजनीतिक कदमबारे थप छलफल हुने एमालेले जनाएको छ।



