बीरगन्ज,२५ असोज । बीरगन्ज–१० घडिअर्वास्थित रामजानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मा अब रामजानकी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले लिएको छ।
शनिबार बिहान मन्दिर प्रांगणमा वडा समिति कार्यालयको आह्वानमा बसेको वडाबासीको सार्वजनिक भेलाले मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिलाई जिम्मा दिने सर्वसम्मत निर्णय गरेको हो। बैठकको अध्यक्षता वडा नं. १० का वडाध्यक्ष सुशील साह कानुले गरेका थिए। भेलाले दीपावलीको अवसरमा मन्दिर परिसरमा भब्य दीप प्रज्वलन गर्ने निर्णय पनि गरेको छ।
वडाध्यक्ष कानुले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “विगत ४० वर्षदेखि मन्दिरमा चढ्ने भेटीको व्यवस्थापन पुजारी शम्भुनाथ तिवारीको कब्जामा थियो। अब मन्दिरलाई समितिले व्यवस्थित रूपमा सञ्चालन गर्नेछ र नयाँ पुजारी नियुक्त गर्नेछ।”

बैठकमा वीरगन्ज महानगरपालिकाको प्रतिनिधिका रूपमा सहभागी सार्वजनिक सम्पदा संरक्षण संवर्धन समितिका संयोजक प्रेमबाबु पटेलले रामजानकी मन्दिर महानगरपालिका र वडा नं. १०को ऐतिहासिक सम्पदा भएकोले यसको संरक्षण र संवर्धनका लागि आवश्यक सहयोग महानगरपालिका तयार रहेको बताए।
साथै, भेलाले समितिको सदस्य संख्या ११ बाट १५ पुर्याउने निर्णय गरेको छ। नयाँ सदस्यमा सन्तोष साह कानु, विपिन बंशल, विशाल महतो, मदन गुप्ता र रेखाकुमारी जेशी थपिएका छन्। समितिले विधान निर्माण गरिसकेको र अब जिल्ला प्रशासन कार्यालयमा दर्ताको प्रक्रिया अघि बढाइने समितिका सचिव प्रभाकर गुप्ताले जानकारी दिएका छन्।




