काठमाडौँ, २५ असोज । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुने आशा व्यक्त गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहाइमा आउने विश्वास रहेको बताए।
प्रवक्ता क्षेत्रीले भने, “विपिन जोशी कब्जामा परेपछि सार्वजनिक भएका भिडियोहरूमा उनको मृत्युको नाम छैन। इजरायलबाट प्राप्त जानकारी अनुसार उनी जिउँदै रहेको पुष्टि भएको छ, त्यसैले चाँडै रिहा हुनेमा हामी आशावादी छौं।”
मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहेको जानकारी समेत दिएको छ। साथै, इजरायल र हमासबीच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको छ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ कि नेपालले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीसँगको सहयोगमा यो बहुप्रतिक्षित सम्झौतालाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरेको छ। मन्त्रालयले सम्झौताको कार्यान्वयन, गाजाका जनतालाई मानवीय सहयोग पुर्याउने र दिगो शान्तिको मार्ग प्रशस्त गर्ने विषयमा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, जोशीलगायत सबै बन्धकको तत्काल रिहाइको आह्वान समेत गरिएको छ।




