बीरगन्ज,२५ असोज । जेन–जी आन्दोलनका क्रममा गोली लागी घाइते भएका ठोरी गाउँपालिका–२ इच्छानगरका युवा नेत्रबहादुर थापालाई शुक्रबार सम्मान गरिएको छ। स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्ड कप–२०८२ को अवसरमा थापालाई सम्मान गरिएको हो।
उनीमाथि भएको सम्मान समारोहमा पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै थापाको साहस र समर्पणको प्रशंसा गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भने, “न्याय, समता र रूपान्तरणका लागि ज्यानको पर्वाह नगरी संघर्षमा उत्रिएका थापाजस्ता युवाहरू हाम्रो समाजका प्रेरणाका स्रोत हुन्।”
त्यस्तै मेयर पाठकले थापाको दृढ आत्मबलले जिल्लाबासीको गौरव बढाएको उल्लेख गर्दै यस्तो सम्मानले देशभरका युवामा समानता र परिवर्तनको भावना थप जागृत गर्ने विश्वास व्यक्त गरे।




