नेपालगञ्ज, २५ असोज । नेपालगञ्जका विभिन्न होटल र रेष्टुरेन्टमा अनैतिक गतिविधि हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ४५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार शुक्रबार राति छुट्टाछुट्टै प्रहरी टोलीले मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारेको हो।
छापाको क्रममा ३१ महिला र १४ पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमध्ये आठ जना भारतीय नागरिक समेत रहेको डीएसपी पातलीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती होटल तथा रेष्टुरेन्टहरूमा अनैतिक क्रियाकलाप सञ्चालन भइरहेको आशंका गरिएको छ। होटल सञ्चालकहरूसमेतलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




