सुनसरी,२५ असोज । भारतबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ईनरुवा नगरपालिका–४ निवासी ३३ वर्षीय कृष्णकुमार मेहता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मेहतालाई शुक्रबार राति पूर्व–पश्चिम राजमार्गको ईनरुवा खण्डमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनी भारतको बिरपुरतर्फबाट मोटरसाइकलमा सवार भएर आउँदै थिए।
प्रहरीले चेकजाँच गर्न खोज्दा मेहताले झोला फालेर भाग्ने प्रयास गरे पनि तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले जानकारी दिए। झोलाको तलासी गर्दा छुट्टाछुट्टै तीन प्लास्टिक प्याकेटमा लुकाइएका १९७.६१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
हाल मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको र घटनास्थलबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। डिएसपी खतिवडाका अनुसार पक्राउ परेका मेहताविरुद्ध लागू औषध ऐनअन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।



