काठमाडौं,२५ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा चार फर्मलाई १ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएको छ।
विभागका अनुसार शुक्रबार अनुगमन टोलीले १९ उद्योग र फर्मको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा मूल्य सूची नटाँस्ने, कर रसिद नदिनु, अव्यवस्थित सामान बिक्री गर्ने जस्ता कारण देखिएकाले सो कारबाही गरिएको हो।
अनुगमन टोलीले काठमाडौं–२५ मा रहेको एसडी राष्ट्रिय दौरा सुरुवाल टेलर्स लाई ५५ हजार रुपैयाँ जरिवाना तिराएको छ। त्यस्तै, काठमाडौं–९ को न्यू बिस्ट कस्मेटिक एन्ड ब्युटी पार्लर र काठमाडौं–७ को एटुजेड कस्मेटिक लाई समान ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

यसैगरी, काठमाडौं–१३ को श्री आर एन्ड आर जनरल स्टोर लाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
विभागले अनुगमनका क्रममा काठमाडौं–३० स्थित एक खुद्रा किराना पसललाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने १३ फर्मलाई सामान्य चेतावनी र सुधारको निर्देशन दिएको छ।
विभागले उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ।




