बीरगन्ज,२५ असोज । बाराको आदर्शकोतवाल गाउँपालिका–३ भटिनियाँमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको लाखौं रुपैयाँ मूल्य बराबरको ‘नागिन’ पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले शुक्रबार भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको तीन वटा मोटरसाइकलमा लोड गरिएको पटाका फेला पारेको हो। बरामद पटाकाको मूल्य करिब रु. २ लाख ५ हजार र मोटरसाइकलको मूल्य करिब रु. ३ लाख रहेको जानकारी सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले दिए।
बरामद पटाका सशस्त्र प्रहरी बल नम्बर १२ गणको हेडक्वार्टर परिसरभित्रको पोखरीमा सुरक्षित रूपमा नष्ट गरिएको छ। दीपावली नजिकिँदै गर्दा अवैध पटाका व्यापार बढ्ने भएकाले सुरक्षा सतर्कता पनि उच्च गरिएको सशस्त्र प्रहरीले जनाएको छ।



