जनकपुर,२५ असोज । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएको जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयले आजदेखि राजस्व सङ्कलन र सेवा प्रवाह पुनः सुरु गरेको छ।
कार्यालयले भौतिक सामग्रीको खरिद, मर्मत, सरसफाइ र रङरोगन गरी सञ्चालन सुरु गरेको जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब रु. २ करोड ५० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको थियो।
कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताका अनुसार, कार्यालयभित्र रहेको चारपाङ्ग्रे दुई गाडी, पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप, कागजपत्र, राजस्व स्टीकर र पाले घर जलेर नष्ट भएका थिए। मर्मतपछि सेवा क्रमशः सञ्चालनमा आएपछि सेवाग्राहीहरू राजस्व बुझाउन कार्यालयमा आउन थालेका छन्।




