काठमाडौँ,२५ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीको जेनजी आन्दोलनसम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
शनिबार काठमाडौंमा बसेको आजपाको काठमाडौं उपत्यका विशेष समितिको बैठकलाई सम्बोधन गर्दै साहले भने, “त्यही जेनजीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, तर असली (‘रियल’) जेनजी आफूले नचिनेको भन्नु हास्यास्पद र आपत्तिजनक छ।”
साहले प्रधानमन्त्री कार्कीलाई ‘डुप्लिकेट–प्रधानमन्त्री’को संज्ञा दिँदै आरोप लगाए कि सरकारले आन्दोलनमा निर्णायक भूमिका निभाएका जेनजी नेतृत्वलाई बेवास्ता गरेको छ। उनले वर्तमान सरकारले तोकिएकै मितिमा चुनाव गराउन सक्नेमा शंका व्यक्त गर्दै प्रधानमन्त्री कार्कीलाई “वजनदार नभएको” र “अँध्यारो कोठाबाट शासन–सत्ता चलाउने” आरोप लगाए।
उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा पनि प्रश्न उठाउँदै, “दलहरूसँग एक दिन र जेनजीहरूसँग अर्को दिन छलफल गर्नुको अर्थ के हो?” भनेर आलोचना गरे। साथै, आन्दोलनपछि सुरक्षा निकायबाट लुटिएका हातहतियार फिर्ता नआएकोमा गृह प्रशासनलाई दोष दिए।
साहले देश अहिले ठूलो संकटमा फसेको बताएर, अन्तरिम सरकार र अन्तरिम संविधानमार्फत मात्रै जनविद्रोहलाई संस्थागत गर्न सकिनेमा जोड दिए। उनले बैठकमा आम जनता पार्टीको छोटो अवधिमा हासिल गरेको राजनीतिक सक्षमता र अग्रगामी भूमिका पनि हाइलाइट गरे।



