जनकपुर,२५ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा नयाँ सरकार गठनको दाबीप्रति गम्भीर आपत्ति जनाएका छन्। मुख्यमन्त्री सिंहले आफूलाई ३० दिनभित्र विश्वासको मत लिन संवैधानिक अधिकार रहेको उल्लेख गर्दै, प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गरेको भन्ने हल्ला पूर्णतः गलत र भ्रामक भएको स्पष्ट पारेका छन्।
शनिबार जारी प्रतिक्रिया मार्फत सिंहले भने, “सङ्घीयतामाथि नै प्रहार हुने गरी मेरो पार्टीसहितका तीन दलले कार्य गरेका छन्। हतारमा गरिएको यस्तो कदमलाई राजनीति भन्न सकिँदैन।” उनले गणतन्त्र स्थापनाका लागि आफूले आन्दोलन गरेको र सङ्घीयता खारेज गर्ने कुरा सपनामा पनि नआउने बताए।
सिंहले वर्तमान गतिविधिलाई “आफ्नो गल्ती छोप्न रचिएको षड्यन्त्र” भनेर आरोप लगाए। उनले स्पष्ट पारे, “मैले राजीनामा दिएपछि मात्र प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नुहुन्छ। त्यसपछि मात्र नयाँ सरकारले बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। अहिले भइरहेको काम प्रक्रियागत रूपमा गलत छ।”

संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि सिंहले असोज २८ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी भइरहेको बताएका छन्। उनले भने, “जनधारले जे भन्छ, म त्यही अनुसार अघि बढ्नेछु।”
असोज २८ गते बस्ने प्रदेशसभा बैठकमा दलहरूले गरेको प्रपञ्चको सारा विवरण सार्वजनिक गर्ने घोषणा गर्दै उनले हालका लागि थप टिप्पणी नगर्ने बताएका छन्।




