काठमाडौं,२६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ।
जसपाले पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै यस अधिवेशनलाई ‘प्रदेश नं १ समितिको अधिवेशन’ का रूपमा उल्लेख गरेको छ। विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।
अधिवेशनको उद्घाटन सत्र र खुला सत्र असोज २६ र २७ गतेसम्म सञ्चालन हुनेछन्। त्यसैगरी जसपा नेपालको अर्को अधिवेशन भोलिदेखि (सोमबार) मधेस प्रदेशमा सुरु हुनेछ। जनकपुरधाममा हुने उक्त अधिवेशनको उद्घाटन पनि अध्यक्ष यादवले नै गर्ने तय गरिएको छ।




