बीरगन्ज,२६ असोज । डेढ महिनादेखि फैलिएको हैजाको संक्रमण नियन्त्रण गर्न पर्सा जिल्लाका सबै १४ पालिकामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्यालय पर्साले हैजाको महामारी नियन्त्रणका उद्देश्यले बुधबारदेखि खोप अभियान प्रारम्भ गरेको हो। यसअघि वीरगञ्जमा सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी अभियानको तयारी पूरा गरिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका चिकित्सक डा. पवन उपाध्यायका अनुसार यो अभियान डब्लुएचओ र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा सञ्चालन हुँदैछ। कात्तिक २ गतेसम्म निरन्तर खोप वितरण गरिने छ। पर्सासँगै बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिकामा पनि खोप अभियान मंगलबारदेखि सुरु गरिने जनाइएको छ।
डा. उपाध्यायका अनुसार १ वर्षदेखि माथिका सबै व्यक्तिहरूले मुखबाट सेवन गरिने यो खोप लिन सक्नेछन्। यो खोप करिब ८० प्रतिशतसम्म प्रभावकारी रहने र एक वर्षसम्म प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताइएको छ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार खोप अभियानको औपचारिक उद्घाटन आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सरकारी अधिकारी र सरोकारवालासहित करिब २५० जनाले खोप लिएर गरिएको हो।
उनका अनुसार जिल्लाभर करिब ६ लाख ५२ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ। तोकिएका खोप केन्द्रहरू र घरभेट कार्यक्रममार्फत खोप वितरण गरिनेछ। “यो खोप पूर्ण रूपमा सुरक्षित छ,” ठाकुरले भने, “भारतबाट प्रवेश गर्ने यात्रु, सरकारी कार्यालयका सेवा ग्राही र बसपार्कका यात्रुहरू समेत अभियानको लक्ष्य समूहमा छन्।”
गत भदौ ५ गतेदेखि वीरगञ्जमा हैजाको संक्रमण देखिएको थियो। हालसम्म १ हजार ५६७ जनामा झाडापखालाको लक्षण देखिएको र तीमध्ये २२७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। पोखरिया नगरपालिकामा पनि १८ जनामा संक्रमण भेटिएको छ।
स्वास्थ्य अधिकारीहरूले यो खोप अभियानपछि जिल्लामा हैजाको संक्रमण दर उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरेका छन्।



