काठमाडौं । तिहार सुरु हुन अझै केही दिन बाँकी छ तर राजधानीका बजारहरू अहिले नै तिहारको रौनकले भरिएका छन्। कात्तिक २ गतेदेखि सुरु हुने पर्वको तयारीसँगै काठमाडौंका विभिन्न व्यापारिक क्षेत्रहरूमा किनमेल गर्ने उपभोक्ताको भीड बढ्दै गएको छ।
न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र ठिमी लगायत स्थानका बजारमा अहिले तिहारका सामान किन्न आउनेहरूको चाप दैनिक रूपमा बढिरहेको व्यापारीहरूले बताएका छन्।
असनका व्यापारी भाइकाजी मर्हजनका अनुसार माटोका पाला (दियो), झिलिमिली बत्ती, मखमली फूलका माला, लक्ष्मी पूजाका सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडाकुडा, लुगा र सजावटी वस्तु खरिद गर्नेहरूको भीडले बजारमा उत्सवमय माहोल ल्याएको छ।
“तिहार नजिकिँदै जाँदा बजारको रौनक दिनदिनै बढ्दै गएको छ,” मर्हजनले भने, “ग्राहकको भीडका कारण बिक्री पनि उल्लेखनीय रूपमा बढेको छ।”
तिहार लक्षित अफर र छुटसहित साना–ठूला पसल र सपिङ सेन्टरहरूले पनि आकर्षक सामग्री बिक्रीमा राखेका छन्। साँझपख सडकछेउ र फुटपाथमा तिहारका सामान—जस्तै बत्ती, मालाहरू र सजावटी वस्तुहरू—सजाइएका देखिन्छन्, जहाँ ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ।
सुन्धारास्थित फुटपाथमा कपडा व्यापार गर्ने शान्ति भुजेलले भनिन्, “साँझ र बिदाका दिनमा ग्राहकको भीड निकै बढ्छ। नयाँ लुगा, बत्ती र घर सजावटका सामान बढी बिक्री भइरहेको छ, व्यापार निकै राम्रो चलिरहेको छ।”
इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकाको तयारीसँगै भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढेको छ। उनले भने, “महिला र बालबालिकाका लागि आकर्षक लुगा र श्रृङ्गार सामग्रीको बिक्री पनि राम्रो भइरहेको छ।”
यस्तै, चिसो मौसम सुरु हुन थालेपछि जाडोका कपडाको बिक्रीसमेत बढ्दै गएको व्यापारीहरूले जनाएका छन्। तिहारको उत्सव नजिकिँदै जाँदा राजधानीका बजारहरू अहिले उत्सवको उमंग र व्यापारिक चहलपहलले झनै रंगिएका छन्।




