जनकपुर,२६ असोज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन्। मधेश प्रदेश सभा सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।
बैठकमा अल्पमतमा परेका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने तयारी गरेका छन्। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई पार्टीले केही समयअघि राजीनामा दिन निर्देशन दिएको थियो। उनले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पछि त्यो मान्य नहुने भन्दै पदमा यथावत रहने घोषणा गरेका थिए।
तर राजनीतिक समीकरण फेरिएपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका असन्तुष्ट समूहले मिलेर नयाँ सरकार गठनका लागि ५८ जना प्रदेश सभा सदस्यको समर्थन हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाइसकेका छन्। प्रदेश सरकार गठन गर्न ५४ सदस्यको समर्थन आवश्यक पर्छ।
जनमत पार्टीले सिंहलाई पार्टीको निर्णय उल्लंघन गरेको भन्दै फिर्ता बोलाउने पत्र पनि प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराइसकेको छ।
अब असोज २८ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाउँछन् वा गुमाउँछन् भन्ने विषयले मधेश प्रदेशको राजनीतिक भविष्य निर्धारण गर्नेछ।



