काठमाडौं,२६ असोज । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोलगायतका संस्थाहरूले अनुमति लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ।
बैंकले आइतबार जारी गरेको सूचनामा विदेशी विनिमय (नियमन) ऐन, २०१९ को दफा ३ अनुसार अनुमति बिना विदेशी मुद्राको कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ। राष्ट्र बैंकका अनुसार विदेशी विनिमयसम्बन्धी विनियमावलीहरूअनुसार क्यासिनोलाई विदेशी मुद्रा (भारतीय रुपैयाँसहित) साट्ने र कारोबार गर्ने अधिकार लिनुपर्छ। यसअघि पनि यस्तो प्रावधान रहे पनि हाल औपचारिकरूपमा नयाँ व्यवस्थासहित कडाइ गरिएको हो।
यससँगै, बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन पनि जारी गरेको छ। नयाँ निर्देशनअनुसार डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत हुने कारोबारमा नयाँ सीमा तोकिएको छ।

अबदेखि डेबिट कार्डबाट प्रतिकारोबार अधिकतम रु २० हजार बराबर र प्रतिदिन रु ५० हजार बराबरसम्म मात्र कारोबार गर्न सकिनेछ। यसअघि यो सीमा प्रतिदिन रु एक लाख थियो।
त्यस्तै, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार र प्रतिदिन रु २० हजारसम्म कारोबार गर्न सकिनेछ। मासिक रूपमा भने अधिकतम रु दुई लाख बराबरसम्म कारोबार गर्न सकिने व्यवस्था यथावत राखिएको छ।
क्रेडिट कार्डका हकमा भने स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न सकिने पुरानै व्यवस्था कायम राखिएको छ।




