spot_img

झलनाथ खनालले पार्टी एकताको विरोध गर्दै नेतृत्वको समीक्षा मागे

spot_img
spot_img

वीरगन्ज,२६ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने वर्तमान गृहकार्यको कडा विरोध गरेका छन्। भारतको नयाँदिल्लीबाट पार्टी सचिवालय बैठकमा लिखित धारणा पठाउँदै खनालले ‘यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन’ भन्दै नेतृत्वलाई गलत बाटोमा नलाग्न चेतावनी दिएका छन्।

खनालले पार्टी एकताको सट्टा सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्नुको कारण र ‘४ वर्षे विद्रोहको यात्रा’ को निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी नेतृत्वहरू ‘दक्षिणपन्थीहरूका पछि लागेको’ र यथास्थितिवादको मार्गमा हिँडेको भन्दै गम्भीर आरोप लगाएका छन्।

मुलुक भयावह संकटमा फसेको र विदेशीहरूको क्रिडास्थल बनेको दाबी गर्दै खनालले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन ‘प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य’ भएको बताएका छन्। उनले पार्टीभित्रको युवा जेन्जी आवाजलाई सम्बोधन गर्दै सही वैचारिक, राजनीतिक कार्यदिशाका आधारमा पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गर्न आह्वान गरेका छन्।

पार्टी एकीकरणको सट्टा क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरी बृहत राष्ट्रिय मोर्चा निर्माण गर्न खनालले अपिल गरेका छन्।

युवा आन्दोलन जेनजी समूहको विद्रोह लाई ‘फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र’ मात्र नभई ‘दुई तिहाइ बहुमत भएको संसद विघटन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता’को उपज भएको खनालले निष्कर्ष निकालेका छन्। उनले सत्तामा रहेका र सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय