spot_img

महोत्तरीमा बाढीले करिब २ हजार हेक्टर धानबाली नष्ट

spot_img
spot_img

जनकपुर,२६ असोज । गत आइतबार र सोमबार रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले महोत्तरी जिल्लाको कृषि क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त भएको प्रारम्भिक विवरणअनुसार करिब दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। महोत्तरी गाउँपालिकामा सबैभन्दा धेरै ६०० हेक्टर र बलवा नगरपालिकामा ५०० हेक्टर धानबाली पूर्ण रूपमा नष्ट भएको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार कुल १ हजार ९३९ हेक्टर धानबालीमा क्षति पुगेको छ।

धानबालीसँगै बाढीले उखु र तरकारी बालीमा पनि ठूलो क्षति पुगेको छ। १ हजार २९० हेक्टर जग्गामा लगाइएको उखुबाली नष्ट भएको छ। यसमा सबैभन्दा बढी क्षति सोनमा गाउँपालिकामा ८७५ हेक्टर भएको छ। त्यसैगरी ६३६ हेक्टर तरकारी बाली नष्ट भएको छ। मटिहानी नगरपालिकामा मात्रै १०० हेक्टर तरकारी बालीमा क्षति पुगेको छ। त्यसैगरी १५३ हेक्टर जग्गामा लगाइएको दलहन बाली पनि नष्ट भएको छ।

रातो नदीको तटबन्ध भत्किँदा जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी पूरै जिल्ला प्रभावित भएको थियो। कृषि ज्ञान केन्द्रले सम्पूर्ण पालिकाबाट क्षतिको पूर्ण विवरण माग गरेको भए पनि हालसम्म नौ पालिकाले मात्र विवरण उपलब्ध गराएका छन्। बाँकी पालिकाहरूको विवरण आउँदा क्षतिको आँकडा अझै बढ्ने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय