राैतहट,२६ असाेज । रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित सितलपुरमा आइतबार ऐलानी जग्गाको विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय शंकर साह बनिया र कपिलदेव यादव पक्षबीच पुरानै जग्गा विवादलाई लिएर विवाद चर्किँदा हातहतियार सहित झडप भएको थियो। झडपमा प्रयोग भएका लाठी, फोर्सा र बाँस काट्ने खुखुरीले गम्भीर घाइते भएका बनियाको बारास्थित एल.एस. न्युरो अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको हो।
घटनामा कपिलदेव यादवकी ४० वर्षीया श्रीमती मिना देवी समेत घाइते भएकी छन्।
मृतकका नाति पप्पु कुमार बनियाले हरिदेव यादव नाम गरेका व्यक्तिले खुखुरी प्रहार गरी हजुरबुबाको हत्या गरेको आरोप लगाएका छन्।
प्रहरीले घटनामा संलग्न फतुवा विजयपुर–२ का हरिदेव यादव (बिनोद), ब्रहमदेव यादव र सुरेश यादव फरार रहेको जानकारी दिएको छ। उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।
घटनापछि इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। हाल घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक रामकुमार महतोले जनाएका छन्।



