रौतहट,२७ असोज । रौतहटको गुजरा नगरपालिका–२ कटानी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई जनालाई शनिबार राति र बाँकी दुई जनालाई आइतबार बिहान छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
शनिबार राति करिब ९:३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई पक्राउ गरेको हो। खानतलासीका क्रममा मनिषको पाइन्टको गोजीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएको ९.३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको बयान र थप अनुसन्धानका आधारमा प्रहरीले आइतबार बिहान सोही टोलका ४० वर्षीय ज्ञानबहादुर थिङ (सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, सञ्जु थिङको घर खानतलासी गर्दा २० पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ (१.८६० ग्राम), ‘Tramadol’ लेखिएका १३ थान ट्याबलेट र नगद रु. ६५,१०० बरामद गरिएको छ।
बरामद पदार्थको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, हालै रौतहटमा लागुऔषधको ओसारपसार र बिक्री वितरणमा वृद्धि देखिएकाले निगरानी र नियन्त्रण अभियानलाई थप कडाइ गरिएको छ।



