काठमाडौं,२७ असोज । डा. सिके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजनमा पुगेको छ। लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद चरममा पुग्दै जाँदा उपाध्यक्ष दीपक साहको समूहले नयाँ पार्टी गठनको घोषणा गरेको हो।
जनमत पार्टीले केही समयअघि उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। सोही विवादले अन्ततः विभाजनको रूप लिएको हो।
साह समूहले ‘जनस्वराज पार्टी’ नाममा नयाँ राजनीतिक संगठन दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ। उनले पार्टीको करिब ४० प्रतिशत केन्द्रीय सदस्यको साथमा विभाजनको प्रक्रिया अघि बढाएको दाबी गरेका छन्। जनमतको ५२ सदस्यीय कार्यकारिणी समितिमध्ये १५ जना साहको पक्षमा उभिएको स्रोतले जनाएको छ।
जनमतभित्र असन्तुष्टि बढ्नुको मुख्य कारण मधेस प्रदेशमा मुख्यमन्त्री चयनको विषय बनेको बताइन्छ। संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री नबनाई सांसद सतिशकुमार सिंहलाई पदमा नियुक्त गरेपछि पार्टीभित्र तीव्र असन्तोष फैलिएको थियो।
पार्टी फुटसँगै मधेसमा जनमतको संगठनात्मक संरचना पुनःव्यवस्थित गर्ने तयारी सुरु भएको छ भने नयाँ बनेको जनस्वराज पार्टीले शीघ्र रुपमा आफ्नो केन्द्रीय समितिको घोषणा गर्ने तयारी गरेको जनाइएको छ।




