जनकपुर,२७ असोज । तिहार र छठ जस्ता ठूला पर्व नजिकिँदै गर्दा पनि तराई–मधेसका कुमाल समुदायका घर–आँगनमा यो वर्ष उत्साह देखिँदैन। कारण हो माटोका दियो, घैँटो, मटिया र कुरबारजस्ता सामग्रीको बजार हराउँदै जानु।
पुर्ख्यौली पेशा भनेर पुस्तौँदेखि माटोका भाँडाकुडा बनाउँदै आएका कुमाल जाति अहिले जीविकोपार्जनको संकटमा परेका छन्। झिलीमिली बत्ती, प्लास्टिकका दियो र धातुका भाँडाकुडाले बजार ओगटेपछि परम्परागत माटोका सामग्री किन्ने उपभोक्ता घटेका हुन्।
जलेश्वर नगरपालिका–५ का कुमाल ध्रुव राय भन्छन्, “पहिले तिहार र छठ आउँदा हरेक वर्ष हजारौँ दियो र भाँडाकुडा बेच्थ्यौं, अहिले त ती सामान हेर्ने पनि कोही छैन।”त्यस्तै, जलेश्वर–६ का गणेश पण्डितका अनुसार बजारमा आधुनिक बत्ती र सस्तो प्लास्टिकका वस्तु बढेसँगै माटोका वस्तुको बिक्री लगभग ठप्प छ।

पहिले माटोका भाँडालाई चोखो र शुभ मान्ने चलन थियो। मटिया, ढकनी, कुसिया, दियो, घैँटो जस्ता सामानको मागले कुमाल परिवार व्यस्त रहने गर्थे। तर अहिले त्यही कला अस्ताउने अवस्थामा पुगेको छ।
महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डित भन्छन्, “पछिल्ला वर्षमा लगानी उठ्दैन, बजार छैन, त्यसैले नयाँ पुस्ताले यो पेशा छोड्दैछन्।”कुमालहरूको भनाइमा पहिला उनीहरूले बनाएका माटोका भाँडाकुडा केवल स्थानीय बजारमै होइन, जनकपुर, हेटौँडा, काठमाडौँदेखि भारतीय सहर मधुबनी र पटनासम्म पठाइन्थ्यो। अहिले भने त्यो व्यापार अतीतको कुरा बनेको छ।
यद्यपि, बुढापाका र संस्कृतिप्रेमीहरूले अझै पनि माटोका भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकाले केही कुमाल परिवारले जसोतसो परम्परा जोगाइरहेका छन्। बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादव भन्छन्, “आधुनिकता आएको छ तर माटोका भाँडामा संस्कृतिको गन्ध हुन्छ। यही गन्धले कुमालहरूलाई अझै पनि आफ्नो पुर्ख्यौली पेसासँग बाँधेको छ।”




