बीरगन्ज,२७ असोज । बीरगन्ज महानगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका सर्लाहीका संजय कुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्साले सामान्य तारेखमा रिहा गरेपछि प्रहरीको निष्पक्षतामाथि प्रश्न उठेको छ।
ठगी तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा संलग्न रहेको आरोप लागेका ठाकुरले महानगरका कर्मचारीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए। उनलाई महानगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो।
महानगरले औपचारिक पत्रमार्फत प्रहरीलाई ठगीका घटनामा संलग्न ठाकुरविरुद्ध कारबाही गर्न माग गरेको थियो। पत्रमा उनले विभिन्न व्यक्तिका नाममा नक्कली वारेसनामा बनाएर वीरगंजका नागरिकलाई धम्क्याउँदै रकम असुल्ने गरेको विवरण उल्लेख थियो।

तर, ठाकुरलाई सामान्य तारेखमा रिहा गरिएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट भएका छन्। उनीहरूका अनुसार यस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई सहजै छुटाइएको घटनाले प्रहरीको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाएको छ।
ठाकुरविरुद्ध बीरगन्ज आदर्शनगरका १६ जना जग्गाधनीले आपराधिक लाभ लिने उद्देश्यले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। तर, मुद्दा दर्ता भएपछि पनि उनलाई तत्काल रिहा गरिएको घटनाले प्रहरी प्रशासनको कार्यप्रति जनताको भरोसा कमजोर बनाएको कर्मचारीहरूको भनाइ छ।




