बीरगन्ज,२७ असोज । पर्सा जिल्लामा महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग खोल्ने क्रम बढ्दै गएको छ। सरकारले महिला उद्यमीको नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने प्रावधानले महिलालाई उद्यमशीलतामा आकर्षित गरेको हो।
घरेलु तथा साना उद्योग कार्यालय बीरगन्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार, गत आर्थिक वर्षमा पर्सामा दर्ता भएका ९ सय ६३ नयाँ उद्योगमध्ये ३ सय ६३ उद्योग महिला उद्यमीले सञ्चालन गरेका छन्।
“पहिला महिला आफ्नै नाममा उद्योग खोल्न हिच्किचाउँथे, तर अहिले सरकारको प्रोत्साहन र महिलाको सक्रियताले यो संख्यामा उल्लेखनीय वृद्धि भएको छ,” उनले भने। कार्यालयका तथ्यांकअनुसार, गत आवमा ६ सय ३५ उद्योग पुरुष उद्यमीले दर्ता गरेका थिए। ती नयाँ उद्योगहरूले करिब १ हजार ७ सय ३७ पुरुष र १ हजार १६१ महिलालाई रोजगारी प्रदान गरिरहेका छन्।

पञ्जीयारले थपे, “एक दशकअघि तराई–मधेस क्षेत्रमा महिला उद्यमीका नाममा उद्योग खोल्ने प्रवृत्ति न्यून थियो। तर ३५ प्रतिशत छुट र महिलाको उद्यमशीलता जागरणसँगै अब महिला उद्यमीका नाममा उद्योग दर्ता हुने क्रम उल्लेखनीय रूपमा बढेको छ।”
यसरी महिला उद्यमीहरूको सक्रिय सहभागिताले स्थानीय अर्थतन्त्रमा रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्द्धनमा ठूलो योगदान पुर्याइरहेको छ।




