काठमाडौं, २७ असोज । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी अघि बढेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग भएको छलफलमा आगामी माघ दोस्रो साता निर्वाचन गर्ने योजना रहेको जानकारी प्राप्त भएको बताए।
प्रधानमन्त्री सुशीला कार्कीले पनि असोज २१ गते आयोगका आयुक्तहरूसँग छलफल गरी निर्वाचनको तयारीमा सहकार्य गर्ने विषयमा सकारात्मक भूमिका देखाएकी थिइन्। अध्यक्ष दाहालका अनुसार, आगामी फागुन २० मा १९ जना राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिँदैछ, त्यसैले कानुनी व्यवस्था अनुसार कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिन अगाडि निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुन्छन्। अध्यक्ष दाहालले भने, “भोटर बदल्न सकिँदैन, तर राजनीतिक दलहरूसँग छलफल गरी सहमति गर्न सकिने विषय छ।”

आगामी निर्वाचनमा रिक्त हुने १९ पदमध्ये १८ पदका लागि चुनाव हुनेछ भने राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल सकिएपछि नयाँ सदस्य मनोनित हुने छन्। फागुनमा बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी १, जनता समाजवादी पार्टी नेपाल १, लोकतान्त्रिक समाजवादी पार्टी १ र राष्ट्रपतिबाट १ रहेका छन्।
अध्यक्ष दाहालले चुनाव सञ्चालनमा कुनै सुरक्षा समस्या नभएको र सात वटा प्रदेशमा समानान्तर निर्वाचन गर्ने तयारी भएको बताएका छन्। प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भएको छलफलले निर्वाचन समयमै सम्पन्न गर्ने सुनिश्चितता दिलाएको छ।




