काठमाडौं, २७ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध ओसारपसारमा संलग्न तीन भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत नेपाल आएका थिए।
विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँचका क्रममा ११ किलो २७५ ग्राम अवैध गाँजा बरामद गर्दै तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया जैनब बशिर रहेका छन्।
नेपाल सरकारको लागूऔषध सम्बन्धी शून्य सहनशीलता नीति लागू भइरहेका बेला अन्तर्राष्ट्रिय उडानमार्फत यति ठूलो परिमाणमा गाँजा भित्र्याउने प्रयास हुनुले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने प्रयास भएको संकेत गर्छ।
तीनै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ।



