spot_img

बारामा हैजाविरुद्धको खोप अभियान सुरु

spot_img
spot_img

बारा, २७ असोज । बारामा हैजा संक्रमण नियन्त्रणका लागि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्ला भित्रका १६ पालिकामध्ये जीतपुरसिमरा उपमहानगर, कलैया उपमहानगर, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा पहिलो चरणमा अभियान सञ्चालन भइरहेको हो।

अभियान आजदेखि कात्तिक २ गतेसम्म चल्नेछ। यस अवधिमा ३ लाख ६५ हजार ९३१ जनालाई मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन (OCV)’ खोप दिने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ।

जीतपुरसिमरा उपमहानगर स्वास्थ्य शाखा प्रमुख रविकुमार भाष्करका अनुसार उपमहानगरभित्रका सबै २५ वटा स्वास्थ्य संस्थामार्फत खोप अभियान सुरु गरिएको छ। उनले चाडपर्वका कारण विद्यालय बन्द भएकाले असोज ३० र ३१ गते विशेष अभियानमार्फत विद्यार्थीहरूलाई खोप दिने योजना रहेको बताए।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले अभियानका लागि ७५ वटै वडामा २१० जना स्वास्थ्यकर्मी र ३७९ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए। उनका अनुसार सुरुमा स्वास्थ्य संस्था, वडा कार्यालय र सरकारी निकायहरूमा खोप दिइनेछ, त्यसपछि घरघर पुगेर छुटेकाहरूलाई खोप दिइनेछ।

यो अभियान हैजा प्रभावित क्षेत्रका पालिकाहरूमा मात्र सञ्चालन भइरहेको हो। वीरगञ्ज र पर्सा जिल्लासँग सीमा जोडिएका क्षेत्रहरूलाई बढी जोखिमयुक्त मानिएको छ। पर्सा जिल्लामा भने आइतबारदेखि नै खोप अभियान सुरु भइसकेको छ, जसअन्तर्गत १४ पालिकाका ६ लाख ५२ हजारभन्दा बढी जनसंख्यालाई खोप दिने लक्ष्य राखिएको छ।

बारा र पर्सा दुवै जिल्लामा सञ्चालन भइरहेको यो अभियानका लागि विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, रेडक्रस लगायतका निकायहरूको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) ले खोप उपलब्ध गराएको हो।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यो खोपले कम्तीमा ६ महिनासम्म हैजा संक्रमणबाट सुरक्षा प्रदान गर्ने र शरीरमा दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय