काठमाडौं, २७ असोज। देशभर डेंगु संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का पछिल्ला तथ्यांकअनुसार पछिल्लो एक सातामै ४१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या चार पुगेको छ।
सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु संक्रमण देखिएको छ। हालसम्म ७५ वटा जिल्लामा डेंगु फैलिसकेको छ। प्रदेशगत विवरणअनुसार पछिल्लो साता गण्डकी प्रदेशमा सबैभन्दा बढी १५१ जना नयाँ संक्रमित थपिएका छन्। त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य विज्ञका अनुसार डेंगु एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसयता यो रोग क्रमशः तराईबाट पहाडसम्म फैलिंदै गएको छ।
सन् २०२२ मा डेंगुले ७७ वटै जिल्लामा प्रकोप फैलाउँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो। गत वर्ष २०२४ मा पनि ४१ हजारभन्दा बढी संक्रमित र १५ जनाको मृत्यु भएको थियो।
स्वास्थ्यविद्हरूका अनुसार हालको मौसम डेंगु फैलिनका लागि अनुकूल बनेको छ। बढ्दो तापक्रम, लामो वर्षा, अव्यवस्थित शहरीकरण र पानी जम्ने स्थानहरू (जस्तै टायर, गमलाका प्लेट र कन्टेनर) लामखुट्टे बढ्ने मुख्य कारण हुन्।
डेंगुका लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेशी र हड्डी दुख्ने, शरीरमा राता दाना देखिनु लगायतका समस्या देखिन्छन्। ज्वरो घटेपछि ७२ घण्टाभित्र रोग गम्भीर अवस्थामा पुग्ने सम्भावना पनि हुन्छ।



