काठमाडौं,२७ असोज । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको नयाँ राजनीतिक परिस्थितिमा पुराना दलहरूलाई संसद् पुनर्स्थापनाको माग त्यागेर आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्।
जेनजी आन्दोलनपछि नेपालको राजनीतिक स्वरूप पूर्ण रूपमा परिवर्तन भएको उल्लेख गर्दै उनले पुराना दलहरूले यदि अझै पनि पूर्वाग्रह र स्वार्थका कारण नयाँ निर्वाचनमा अवरोध पुर्याए भने त्यो उनीहरूकै लागि घातक साबित हुने चेतावनी दिएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा पेस गरिएको प्रतिवेदनमार्फत अध्यक्ष महतोले प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने स्पष्ट जनादेश दिइसकेको स्मरण गराउँदै, “अब ढिलाइ र द्विविधाको कुनै ठाउँ छैन,” भनेका छन्।
उनले सरकार ‘क्रान्तिको बलमा बनेको अन्तरिम संरचना’ भएको भन्दै त्यसले प्रशासनिक काममा मात्रै सीमित नभई चाँडो निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्न जोड दिए।
महतोले प्रधानमन्त्री कार्कीमाथि “सरुवा–बढुवा र पदस्थापनजस्ता नियमित कार्यमा अल्झिएको” भन्दै आलोचना पनि गरे।
राष्ट्रिय मुक्ति पार्टीले सरकारलाई “विगतका गल्ती सच्याएर नयाँ जनादेशका दिशामा देश अघि बढाउने” स्पष्ट योजना बनाउन र सबै पक्षलाई त्यसमा सहभागी गराउन आह्वान गरेको छ।



