बीरगन्ज,२७ असोज । बीरगन्ज महानगरपालिकाले शहरलाई स्वच्छ र प्लास्टिकमुक्त बनाउन निजी क्षेत्रसँग त्रिपक्षीय सम्झौता गरेको छ । सोमबार महानगर कार्यालयमा सम्पन्न सम्झौतामा फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका लागि संयुक्त पहल अघि बढाइने जनाइएको छ ।
करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने यो परियोजना पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा निर्माण गरिनेछ । परियोजना निर्माण सम्पन्न भएपछि सम्पूर्ण जिम्मेवारी वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।
सम्झौतासँगै बीरगन्जलाई फोहोरमुक्त र वातावरणमैत्री सहर बनाउने लक्ष्य लिइएको छ । महानगरका अधिकारीहरूका अनुसार यस परियोजनाबाट दैनिक फोहोर व्यवस्थापनमा सुधार आउने, पुनर्चक्रण प्रणाली सुदृढ हुने र प्लास्टिकजन्य फोहोर घट्ने अपेक्षा गरिएको छ ।



