हेटौँडा,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले वर्तमान निर्वाचन प्रणाली र संरचनामा आधारित चुनावले देशमा कुनै वास्तविक परिवर्तन नल्याउने बताएका छन्।
मकवानपुरद्वारा हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले जेन्जी युवाहरूको भ्रष्टाचार र कुशासन अन्त्य गर्ने चाहना पूरा गर्न हालको राज्य संरचना, शासकीय स्वरूप, संवैधानिक परिषद् र न्याय परिषद् यथावत राखेर हुने निर्वाचन पर्याप्त नहुने उल्लेख गरे। उनले भने, “जेन्जी युवा पुस्ताको आन्दोलन सङ्गठित र संस्थागत नभएकाले उनीहरूले परिवर्तनको स्पष्ट खाका तयार गरेका छैनन्। उनीहरूको मुख्य लक्ष्य भ्रष्टाचार र कुशासन अन्त्य गर्नु मात्र हो।”
थापाले आन्दोलनका क्रममा उठेका प्रदेश संरचनाको खारेजी, शासकीय स्वरूप परिवर्तन, हिन्दूराष्ट्र स्थापना र संवैधानिक राजसंस्था पुनर्स्थापनाका माग तत्काल पूरा नहुने अवस्था रहेको बताए। साथै उनले हालको संकट र जनआक्रोशको मुख्य कारण संघीयता र धर्मनिरपेक्ष गणतन्त्रको असफलता भएको बताए।

उनी राष्ट्रको सुरक्षा र हिन्दूराष्ट्र, राजसंस्था र सुशासनको एजेन्डा रक्षा गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट हुनुपर्ने पक्षमा छन्।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, मकवानपुर अध्यक्ष गुरु सापकोटा, मन डिसी, दिलबहादुर बल, रमेश चौलागाईं, भृगु कार्की लगायतले पनि मन्तव्य राखेका थिए।




