काठमाडौं, २८ असोज । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। अदालतले बहसपछि उनलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने निर्णय सुनाउनेछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो। त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।
महरामाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। मुद्दामा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ।
यो प्रकरण २०७९ पुस १० गते फ्लाई दुबईको उडान एफजेट–०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग सम्बन्धित हो। विमानस्थलमा उनको सुटकेसमा भेप देखिएपछि भन्सारले नियन्त्रणमा लिएको थियो। पछि उनले पासपोर्ट लिएर नेपाल छाडे पनि ती भेप भन्सार कार्यालयमै थन्किएका थिए।
पछि भेपमा सुन लुकाइएको सूचना पाएपछि विमानस्थलका केही कर्मचारीले प्रमाण साटेको शंका गरिएको थियो। त्यसपछि भन्सार विभागले २०८० वैशाख २६ गते सीआईबीलाई पत्राचार गरी अनुसन्धानको आग्रह गरेको थियो। दुई महिनासम्म चलेको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको पुष्टि गर्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनामाथि मुद्दा दायर गरेको थियो।
पूरक अभियोगमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, पूर्वसभामुख महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्धामा समावेश गरिएको छ। सीआईबीले केही दिनअघि पूर्वसभामुख महरासँग बयान लिएपछि उनलाई पक्राउ गरी अदालतको आदेश अनुसार थुनछेक बहसका लागि आज अदालतमा उपस्थित गराइएको हो।




