जनकपुर,२८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अब संविधान पुनर्लेखन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने प्रणाली आवश्यक रहेको बताएका छन्।
सोमबार जनकपुरधाममा सुरु भएको पार्टी एकता पछिको प्रथम मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले वर्तमान राजनीतिक व्यवस्था अस्थिर र भ्रष्टाचारमुखी बन्दै गएको टिप्पणी गरे। उनले भने, “जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा राष्ट्रप्रमुख शक्तिशाली भएर तानाशाही बन्न सक्छ। त्यसैले प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख प्रणाली ल्याउने बेला आएको छ।”
यादवका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख भएमा सांसद किनबेच, गठबन्धनको अस्थिरता र राजनीतिक सौदाबाजी अन्त्य भई देशमा स्थिरता र जवाफदेहिताको वातावरण निर्माण हुनेछ। अहिलको मिश्रित निर्वाचन प्रणालीलाई उनले “खिचडी प्रणाली” भन्दै आलोचना गरे। उनले भने, “दुनियाका ७१ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली छ, जहाँ उम्मेदवारले पैसा खर्च गर्नुपर्दैन र जनताको मत सिधै दलमा गन्न सकिन्छ।”

तीन दशकभन्दा बढी समयदेखि कांग्रेस र कम्युनिस्ट दलहरूले पालैपालो सत्तामा रहेर देश लुटेको आरोप लगाउँदै यादवले भने, “ज्योतिषीको सल्लाहमा दुई–तीन जना पटक–पटक प्रधानमन्त्री बने, तर जनताले केही पाएनन्।”
सुन काण्ड, ओम्नी काण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्डजस्ता प्रकरणले युवाहरूमा गहिरो आक्रोश पैदा गरेको उल्लेख गर्दै उनले भने, “अब त्यो आक्रोश सामाजिक सञ्जालबाट सडक र आन्दोलनमा रुपान्तरण हुँदैछ।”
यादवले देशमा हाल चुनावको वातावरण नरहेको र जनता भय, त्रास र अनिश्चिततामा रहेको दाबी गरे। उनले संविधानले सरकार वा संसद् विघटनको बाटो बन्द गरेको भन्दै नयाँ राजनीतिक मार्गदर्शन आवश्यक रहेको पनि औंल्याए।
सो अवसरमा जसपा मधेस प्रदेशका अध्यक्ष बालकिशोर यादवले हालसम्म ८८ हजार ४ सय सदस्यले पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिए। उनले पुनः प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे भने युवा नेता योगेन्द्र राय यादवले पनि सो पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।




