सिराहा,२८ असोज । सिराहामा भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक व्यक्ति स्रोत नखुलेको आठ लाखभन्दा बढी नगदसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिराहा नगरपालिका–२०, लगडिगदियानीस्थित प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले आइतबार राति करिब ९ बजे कल्याणपुर नगरपालिका–१, बनिनियाँका ३० वर्षीय राशिन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।
मण्डलको साथबाट आठ लाख २५ हजार रुपैयाँ नगद, विभिन्न बैंकका चेकबुक र एटिएम कार्ड, दुई थान कपाली तमसुक र आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मण्डल म प्र ०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ प्रवेश गरेका थिए।
“शंका लागेर तलासी लिँदा स्रोत खुल्न नसकेको ठूलो परिमाणको नगद र वित्तीय कागजातहरू फेला परेका छन्,” डिएसपी पालले बताए। हाल मण्डललाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा सम्भावित अवैध कारोबारसम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




