जनकपुर,२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा सिंहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको छ।
प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाका अनुसार, गत शुक्रबार मुख्यमन्त्री सिंहले पत्र पठाएर विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। सो अनुरोधका आधारमा आजको बैठक बोलाइएको हो।
सिंहले भदौ २३–२४ गतेको ‘जेन–जी आन्दोलन’ चर्किदा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले उक्त निर्णयलाई ‘विषम परिस्थितिमा जनधनको क्षति रोक्नका लागि गरिएको अस्थायी कदम’ भएको स्पष्ट पारेका थिए।

सिंहको राजीनामापछि उनको नेतृत्वको जनमत पार्टीले असन्तुष्टि जनाउँदै भदौ ३१ गते प्रदेश सभामा सभामुखलाई पत्र बुझाउँदै सरकारप्रति समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता उत्पन्न भएको थियो।
आजको विश्वासको मत प्रक्रियाले मधेश प्रदेशको राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। यदि सिंहले आवश्यक बहुमत जुटाउन सकेनन् भने नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। तर, सिंह नजिकका स्रोतका अनुसार विश्वासको मतका लागि आवश्यक समर्थन जुटाउने प्रयास अन्तिम चरणमा पुगेको छ।
प्रदेश सभामा सिंहको सरकारलाई समर्थन दिने वा विरोध गर्ने दलहरूको औपचारिक धारणा आजको बैठकमा नै स्पष्ट हुने बताइएको छ।




